वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्लाउडिया शिनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपति भएकोमा फोन गरी बधाई दिएको ह्वाइट हाउसले जनाएको छ ।
फोनवार्तामा दुवै नेताले उाीहरूको देशको ‘प्रगाढ सम्बन्ध’ को चर्चा गर्नुका साथै दुवै देशको समृद्धि र सुरक्षालाई अगाडि बढाउने बलियो र सहयोगात्मक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धतामा जोड दिएको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति बाइडेनले गत जुनमा शानदार जित हासिल गरेकी मेक्सिकोकी शिनबामलाई यसै साताको सुरुमा भएको राष्ट्रपतिपदको सपथग्रहण समारोहमा आफ्नी पत्नी जिल बाइडेनलाई न्यानो स्वागत गरेकोमा आभार प्रकट गरेका थिए ।
मेक्सिको सिटीका पूर्व मेयरसमेत रहेकी मेक्सिकोकी राष्ट्रपति शिनबामले मङ्गलबार पद तथा गोपनीयताको सपथ लिएकी थिइन् भने जिललाई उक्त समारोहमा अमेरिकी प्रथम महिलाका रूपमा आमन्त्रण गरिएको थियो ।
बाइडेन दम्पतीले नोभेम्बरमा हुने चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारका रुपमा समर्थन गरेका छन् ।
यदि उनी विजयी भइन् भने उनी अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।
अमेरिकी निर्वाचनमा मेक्सिकोसँगको अमेरिकी सीमाबाट आउने आप्रवासीको आगमन मुख्य मुद्दा बनेको छ ।
विश्वको सबैभन्दा बढी स्पेनी भाषी देश मेक्सिकोमा १२ करोड ९० लाख मानिस बसोबास गर्छन् र स्वतन्त्र भएदेखि अहिलेसम्म ६५ जना पुरुष राष्ट्रपति भइसकेका छन् ।

प्रतिक्रिया