संक्रणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित


काठमाडौं । राष्ट्रिय सभाबाट पनि संक्रणकालीन न्याय सम्बन्धी विधेयक पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाले सो विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । उक्त विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो ।

विधेयक २०७९ फागुन २५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा उत्पत्ति भएको  विधेयक सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ ।  राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सो ऐन कार्यान्यवनमा आउनेछ ।