काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले शनिबार सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित विभिन्न व्यक्तिसँग सोधपुछ गरेको छ ।
समितिले शनिबार ज्येष्ठ वचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध मधुसूदन पाठक(सिते बा)लाई बैठकमा बोलाई सोधपुछ गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
सिते बा कलाकार समेत हुन् । त्यस्तै समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्व अध्यक्ष सूर्यबहादुर गुरूङसँग पनि सोधपुछ गरेको छ ।
यो सहकारीमा नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत संस्थापक अध्यक्ष, त्यसपछि गुरूङ अध्यक्ष र रास्वपाका हाल उपाध्यक्ष एवं पूर्वमन्त्री डीपी अर्याल उपाध्यक्ष र कविन्द्र बुर्लाकोटी सदस्य रहेको यो संस्था २०७९ पछि जीबी राईको अध्यक्षतामा देशभरि कार्यक्षेत्रका साथ संचालन हुन पुगेको थियो । र, हाल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअन्तर्गत रहेको छ ।
त्यस्तै समितिले शनिबारै कृषि विकास बहुउद्देश्यीय, कुमारीपाटी, ललितपुर र कृषि विकास वचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट बैठकमा बोलाई सोधपुछ गरिएको जनाएको छ । त्यसैगरी समितिले बराह वचत तथा ऋण सहकारी धरानका अध्यक्ष मानबहादुर विश्वकर्मालाई बैठकमा धरानबाट बोलाएर सोधपुछ गरेको थियो ।

प्रतिक्रिया