सरकारले गिरिबन्धु यो हुन्छ, त्यो हुन्छ होइन, एक्सन चाहियोः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु र सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथिको अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले यी विषयमा अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताएका हुन् ।

उनले दोषी उम्कदैन भन्नेकुरा सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन ।’

महामन्त्री थापाले गिरिबन्धु टि स्टेटका विषयमा अदालतले दिएको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले गिरिबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्यो ।’

महामन्त्री थापाले यसअघि गृहमन्त्री रमेश लेखकले रास्वपाका सभापति रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न गरे ।

उनले भने, ‘माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो । उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।’

उनले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको बताए ।