काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको क्रममा प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षका नेता सांसद उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने नि, प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक कामबाहेक सबै मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँले आफैँ आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ।’
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सत्ताघटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत नेकपा माओवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भने अनुपस्थित थिए ।

प्रतिक्रिया