टीकापुर घटनामा राज्यले थारुहरुलाई क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा आयोजित कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् । सँगै रहेका गृहमन्त्रीलाई इंगित गर्दै उनले भने, ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस् । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’

चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको पनि बताए । उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रष्ट पारे ।

उनले भने, ‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं । टीकापुरको अब नाम भन्ने बेला आएको छ ।’ चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरुले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान् ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई ।’