काम गर्न सक्ने वातावरण नबने सरकारमा बस्दैनौंः गृहमन्त्री


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको बताएका छन् । उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन । तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । देशमा । म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन् ।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको भन्दै लामिछानेले आफ्नो समयमा भट्टराईले आफ्नो पद र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदारहण भएको बताए ।

वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे ।

उनले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

उनले व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे । लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे ।

उनले भने, ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं । नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन।’