क्रिकेटमात्र किन ?


डा. गोविन्दशरण उपाध्याय ।
ईसाको १६ औं शताब्दीको अन्त्यतिर इंग्ल्यान्डबाट आरम्भ भएको क्रिकेटले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा क्रिकेटले तेहाका असंख्य रैथाने खेलहरूको हत्या गरेको छ । उपर्युक्त देशहरू इंग्लिशका गुलाम थिए । स्वामीले आरम्भ गरेको खेलमा दासहरूको प्रेम बुझ्न सकिन्छ । तर अब यो एकखेलवादी विदेशी मनोरोग नेपालमा पनि सरेको छ । भारतसहित अन्य देशमा क्रिकेट लोकप्रिय हुनुको अर्थ सजिलै बुझ्न सकिन्छ तर नेपाल भने अप्रत्यक्ष रूपमा विदेशीहरूको दासतातिर लम्किरहेको उदाहरण क्रिकेट पनि हो ।

जहाँ र जुन समयमा आरम्भ भए पनि खेल खेल्न सकिन्छ । क्रिकेट इंग्ल्यान्डकोरैथाने खेल हो । म क्रिकेटको विरोधी होइन । क्रिकेट पनि एउटा खेल हो अन्य खेलसरह । राष्ट्रले क्रिकेटसरह नै अन्य रैथाने खेलहरूको अभिभावकत्व लिनुपर्छ । विदेशी क्रिकेटलाई गोद लिएर आफ्ना रैथाने सन्तानहरूलाई हेलाँ गर्नु धूर्त्याइँ तथा लोभलालचको पराकाष्ठा हो । क्रिकेटमात्र खेल हो अन्य खेलको अर्थ छैन भन्ने मानसिकताको म विरोधी हुँ । नेपालमा क्रिकेट भन्दा राम्रा अन्य खेलहरू पनि छन् । नेपालले क्रिकेटलाई महत्व दिएर नेपालको होइन इंग्ल्यान्डको रैथाने खेलको बर्चस्व बढ्ने हो । बरू, बाघचालजस्ता नेपालमा जरोकिलो भएका खेलहरूलाई महत्व दिएर क्रिकेट खेल्ने हो भने विश्वमा नेपालको नाम हुन्छ ।
क्रिकेट खेल्न अभिरुचि भएका, क्रिकेटमा राम्रो खेलेर आफ्नो र देशको नाम चिनाउने नेपाली खेलाडीहरूलाई शुभकामनासहित प्रोत्साहन गर्छु तर क्रिकेट वाहेक अन्य खेलहरूलाई ‘खेल नै नठान्ने, अन्य खेलहरूको विकास तथा प्रवर्धनमा ध्यान नदिनेहरू’ निःसन्देह क्रिकेटको पितृभूमिका दास हुन् भन्ने पनि ठोकुवा गर्छु ।

क्रिकेटका लागि ठूलाठूला ग्राउण्ड निर्माण गर्न बजेट छुट्टिन्छ, क्रिकेट बोर्डका माध्यमबाटबाट सरकारी पैसा जान्छ, देश विदेशमा खेल्न खेलाडीहरूले सरकारी सुविधा प्राप्त गर्छन् – राम्रो कुरा हो । तर देशका अन्य खेलहरू (बियोडण्डा नेपल्क्प राष्ट्रीय खेल हो भन्ने तत्थ्य धेरै नेपालीलाई थाहा नै छैन)संग सौताजस्तो व्यबहार गर्ने सरकार र सरकारी निकायहरूको यो सौताजस्तो व्यबहार न्यायसंगत छैनन् ।
सरकारले केवल क्रिकेटका खेलाडीहरूलाई महत्व दिंदा अन्य अन्य खेलविधामा दिनहुँ साधना गरिरहेका खेलाडीहरूप्रति चरम अन्याय भएको छ । क्रिकेट खेल्नु खेलाउनु राम्रो हो तर देशका परम्परागत खेलविधाहरूसंग सौतेनी व्यबहार गरेर क्रिकेटलाई एकमात्र खेल सम्झनु अनुचित हो । ए सरकार ! अन्य विधाका खेल र खेलाडीहरूसंग समानताको व्यबहार गर ।