विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छः महासचिव पोखरेल


 

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताए ।

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले जानकारी दिए । विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उनले बताए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

संसद्मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उहाँको धारणा छ । “आफूमाथि लागेको आरोपका विषयमा संसद्मा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, सङ्घर्ष भएको हो”, उनले भने, “एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसद्मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथि अतिक्रमण मुख्य समस्या रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए ।

अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ ।   उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए ।