संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा


काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दल छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

सत्तारुढ दलहरुको बैठक चलिरहेका बेला कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् प्रधानमन्त्रीले आज बिहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले समिति गठन गर्ने र दिउँसो सत्तारुढ दलसँग छलफल गरी फेरि कांग्रेस नेताहरुसँग बस्ने बताएका थिए ।

त्यसै अनुरुप प्रधानमन्त्रीले साँझ कांग्रेस नेताहरुलाई बालुवाटार बोलाएका हुन् । सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै आएको छ । सत्तापक्षले समिति गठन गर्न नमान्दा सदन अवरुद्ध हुँदै आएको छ ।