खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन् ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत सोमबार आयोजित २१ दशमलव ९७ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगितामा बुढाले निर्धारित दुरी एक घन्टा २८ मिनेट ४६ सेकेन्डमा पार गरिन् । त्यसैगरि पुरुषतर्फ राईले एक घन्टा नौ मिनेट ४८ सेकेन्डमा पूरा गरे ।
उपाधि विजेता बुढा र राईले जनही नगद ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि म्याराथन धावक बैकुण्ठ मानन्धर, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
महिला विधा तर्फ पूर्णलक्ष्मी न्यौपाने, दीपा बस्नेत, रुस्मा राई, सुजना राई, रञ्जना राई, नमूना राई र तनिसा राई क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन् । उनीहरुले क्रमशः नगद ५० हजार, २५ हजार, १५ हजार, १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुष विधा तर्फ सञ्जय श्रेष्ठ, सुशीलकुमार शाही, राजेन्द्र तामाङ, विनोद रोकाया, भूमिराज राई र करण खड्का क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन् । उनीहरुलाई क्रमशः नगद ५० हजार, रु २५ हजार, १५ हजार, दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पाए ।
पन्ध्र वर्षमाथिका १० किलोमिटर खुला पुरुष दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका टङ्कबहादुर कार्की, देउराज बस्नेत र भूपेन्द्र सुनार प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र सात हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, खुला महिला प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका वविता राई प्रथम, आर्मीकै सिर्जना राई दोस्रो र दिक्तेलकी रञ्जिला राई तेस्रो भएका छन् । उनीहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र सात हजार प्रदान गरिएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाका रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जनाएको छ ।

प्रतिक्रिया