ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह


 

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गरेका छन् ।

सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी तयारी गर्न सुझाव दिएका हुन् । उनले पेरिस ओलम्पिकमा छनोट भएकोमा बधाइ समेत दिए । आफूभन्दा वरियतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन सङ्घको ध्यानाकर्षण गराउँदै उक्त प्रतियोगिताको तयारीका लागि राखेपले गर्ने सहयोगमा कुनै कमी नरहने बताए ।

सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षक नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने भन्ने विषयमा  समन्वय गर्न सङ्घलाई निर्देशन दिए ।  हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक सँगै जाने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ ।

प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्री आजै राखेपले उपलब्ध गारएको छ । प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

भेटका अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई ‘वाइल्ड कार्ड’ दिलाउन सङ्घले धेरै मिहिनेत गरेको बताए । प्रिन्स हाल विश्व वरियतामा एक सय ७९औँ स्थानमा छन् । जुनियर विश्व वरियतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा छ महिना शीर्ष स्थानमा थिए ।