काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले अहिले गृहमन्त्रीको राजीनामा नभई संसदीय समिति गठनको माग गरेको स्पष्ट पारेका छन् ।
आइतबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री थापाले दर्जनौं सहकारी संस्थामा लाखौं मानिसको डिपोजिट रहेको र उनीहरु अहिले सडकमा आइपुगेका भन्दै उनीहरुका समस्या पनि समितिले सुन्नुपर्ने भएकाले संसदीय समितिको माग गरेका हुन् ।
उनले संसदीय छानबिन समिति बनाउने कुरामा नबिराउनेले डराउनु नपर्ने बताए । महामन्त्री थापाले भनेका छन्, ‘छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ । अहिले राजीनामा दिनुपर्दैन, विष्णु पौडेल वा जनार्दन शर्माको छानबिन गरेजस्तो पनि होइन । मनमा पाप छैन भने डराउनुपर्दैन ।’
उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।

प्रतिक्रिया