ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने बताएका छन् ।
नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ द्वारा शनिबार महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने बताए ।
“हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ”, उनले भने, “खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छाैँ ।”
उनले सुशासनप्रति प्रतिबद्ध रहँदै नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताए । “यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छाैँ, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौँ”, महामन्त्री थापाले भने ।
उनले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दल जोसुकै गरेको भए पनि कानूनको शासनभन्दा माथि कोही पनि नहुने बताए । उनले भने, ‘कानूनको शासनको लागि हामी उभिन्छौं भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन । यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीले गरेको कीर्ते पनि कीर्ते नै हुन्छ ।’
पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्दै उनले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिए । बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भन्दै उनले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताए ।
नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भन्दै उनले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराए ।
पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने भन्दै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले विपीको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिए ।
“हामीहरु विदेशी सीप, ज्ञान ल्याएर नेपाललाई समृद्ध बनाउन सक्छौँ । राजनीति भनेको जहिले पनि विचार र दर्शनमा आधारित हुन्छ, दर्शन र विचार नै बलियो नभएका पार्टीहरूसँग अल्मलिएर कांग्रेसले समय खेर फाल्नु हुँदैन”, प्रा डा पोखरेलले भने ।
गालीगलौजको भरमा भोट हाल्ने संस्कृति बदल्नुपर्छ भन्दै उनले जनप्रतिनिधि समाजसेवा गर्न गएको प्रतिनिधि भएको बताए ।
कांग्रेसले ल्याएको नीतिले २०४८ देखि २०५१ सम्म विकासका गतिविधि तीव्र रूपमा बढेको स्मरण गरे । “क्षमता हासिल गर्न विदेश जाँदा दुःख मान्नुपर्दैन, तर बाध्यताले विदेशिएकाप्रति भने हामी संवेदनशील हुनुपर्छ”, उनले भने।

प्रतिक्रिया