काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनविना एकल बहुमत ल्याउन सक्ने संगठन निर्माण गर्नुपर्ने बताएका छन् ।
राजधानीमा शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने एकल बहुमत ल्याउन सकिने बताए ।
उनले भने, ‘देशभरि एकीकृत भएर, एक स्वरमा संगठन निर्माण र जनताको बीचमा जाने हो भने कसैसँग गठबन्धन नगरीकनै एकल बहुमत ल्याउन सक्छौं । त्यसका लागि आफ्नो स्थानबाट आफूलाई तयार राखौं भन्ने मलाई लाग्छ ।’
संविधान संशोधनको बहस र निर्वाचन पद्धति परिवर्तन गर्ने विषयमा छलफल सुरु गर्नुपर्ने भन्दै त्यसको पहल कांग्रेसले नै गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधान संशोधनको बहस अब हामीले सुरु गर्नुपर्छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छ । यो मिश्रित निर्वाचन प्रणालीले कुनै पनि एकल पार्टीलाई बहुमत ल्याउन कठिन भयो, यसको अन्त्य गर्न जरुरी छ । त्यसको लागि समानुपातिकता, समावेशिता सुनिश्चित गर्दै पनि प्रत्यक्ष निर्वाचनमा जान सकिन्छ । त्यस्तो निर्वाचन पद्धतिमा जाने विषयमा अब छलफल सुरु गर्नुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।’

प्रतिक्रिया