काठमाडौं । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उक्त क्षेत्र रिक्त थियो । नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपमहासचिव ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केहीमात्रामा आशाको सञ्चार भएको प्रतिक्रिया दिए । “हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उनले भने ।
सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझबढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले सुभेच्छा व्यक्त गरेको पनि जानकारी दिए । बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भत्र्सना पनि गरेको छ ।
बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उहाँलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया