राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली


 

दोधारा चाँदनी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए ।

“सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने,“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।”

अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताए । “यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ”, उनले भने, “यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।”