निजामती सेवा विधेयक संसदमा पेश


काठमाडौं । प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै, प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए ।

नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए । यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ ।