रेशमको पत्र रञ्जितालाईः मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ


काठमाडौं । नागरिक उन्मुक्ति पाटींका संरक्षक रेशम चौधरी र पत्नी रन्जिताबीचको विवाद सतहमा आएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीचको विवाद सहतमा आएको हो । रेशमले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र रञ्जिताले दिने ह्वीप जारी गरेका थिए । रेशमले सामाजिक संजालमार्फत रञ्जितालाई पत्र लेखेका छन् । रेशमले लेखेका छन्, ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् ।’

सामाजिक संजालमा रेशमले यस्तो लेखेका छन्ः

विषय जितहारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ। सन्दर्भ : घर झगडा हुँदै होइन, विषय राजनैतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो। आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपाजस्ता साना दलमा कत्रो भुइँचालो गएको छ?

त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौँ। नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ। आफ्नो नीति सिद्धान् अनुरूप चलौँ।

कुरो रह्यो बूढाबूढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी! टीकापुर घटनापछि पनि प्रचण्ड दुइचोटि प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो। तर हामी रिहा भएनौँ नि! अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहा भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही…छैनौँ। जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो।

मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल् भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टन्टै साफ!

हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन। अहिले विधानका कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ, त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधानभन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।

तर याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ। सबैलाई लागेको होला- केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ। उहिले भन्न सक्दिनँ, अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ।

मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु। तर पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन। म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ- दु:ख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।