काठमाडौं । क्यानडाले नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य दिएको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाउन सफल भएको हो ।
श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए । मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २–२ तथा सागर ढकाल र बसिर अहमंदले १–१ विकेट लिए ।
पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए । नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए ।

प्रतिक्रिया