काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आज बिहान ११ बजे राष्ट्रियसभा गृहमा बैठक सुरु हुनेछ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ ।
बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।
सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया