बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीका सबै नेताहरुको सम्पत्ति सार्वजनिक गर्न प्रस्ताव गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा विप्लवले सत्तारुढ दलमा रहेका नेताहरुको सम्पत्ति सार्वजनिकरण गरे अहिले बाहिर आएको मुख्य समस्या समाधान हुने बताएका हुन् ।
उनले त्यसको सुरुवात माओवादी केन्द्रका नेताहरुबाट गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले भने, ‘खासगरी नेकपा माओवादी केन्द्र माओवादी आन्दोलनबाट जन्मेर अहिले सरकारको नेतृत्व गरेको हो त्यसैले त्यसको सूरुवात नेकपा माओवादी केन्द्रका नेताहरुबाट गर्नुपर्छ । हिजो जनयुद्ध गरेर सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रका सबैनेता कार्यकर्ताहरुको सबै सम्पत्ति सार्वजनिक गरे समस्याको जड पत्ता लागिहाल्छ, पैसोको चलचेल भएकैले राजनीति बिग्रेको हो ।’
देशका धेरै नागरिकले भरोसा गरेको कैयन माओवादीका नेताहरु सत्तालिप्सा र स्वार्थका कारण बिग्रेको भन्दै उनले पार्टी पनि उनीहरुको योजनामा अघि बढेको बताए ।
उनले अहिलेको अवस्थामा आफूहरुले नेपाली मोडलको वैज्ञानिक समाजवादबाट मुलुकलाई अगाडि बढाउन सकिने पार्टीको स्पष्ट धारणा रहेको भन्दै कुनै न कुनै माध्यमबाट नेपाली जनताको सेवा गरेर देखाउने दृढ संकल्पका साथ अगाडि बढेको बताए ।
उनले भने, ‘हामीले केही न केही गरेर देखाउँछौं, ५ वर्ष जिम्मा दिइयोस्, धेरै पनि मागेका छैनौं, देश बनाउन के गर्नुपर्छ भन्ने सुत्र तयार गरेका छौं, जनमतसंग्रहबाट हुन्छ कि अरु कुनै माध्यमबाट हुन्छ, यहाँको नेतृत्व गरेर जाने संकल्प गरेका छौं, हामी जोतिन तयार छौं ।’

प्रतिक्रिया