काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले आफूले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा बुधबार मन्त्री किरातीले आफूले गरेका मुख्यमुख्य काम र उपलब्धि सार्वजनिक गरेका हुन् ।
उनले एक वर्षमा केही कानूनको तर्जुमा, सुधार र नियमालीलाई समय सापेक्ष बनाउनेलगायत १ सय १ वटा काम गरेको जानकारी दिए । उनले आफूले मन्त्रालय सम्हालेको पहिलो तीन महिनामा सामान्य सुधारका काम गरेको र ९ महिनामा मध्यमस्तरको काम गरेको भन्दै आगामी दिनमा क्रम भंग गरेर काम गर्ने दाबी गरे ।
किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको भन्दै नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए । उनले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने उल्लेख गरे ।
त्यस्तै मन्त्री किरातीले दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड निगमको ट्वीनटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको बताए ।
उनले नेपालदेखि अष्ट्रेलियाको सिड्नी उडानको तयारी अन्तिम चरणमा रहेको भन्दै क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, निगमको सावाँ–ब्याजको ५ अर्ब किस्ता तिरेको उल्लेख गरे । मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी निगमबाट खोस्ने कुनै आधिकारिक निर्णय नभएको पनि प्रष्ट पारे ।

प्रतिक्रिया