श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा


एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका क्रिकेट बोर्डमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले तत्कालको लागि बोर्डलाई सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको कुरा निर्धारण गरेको छ ।

निलम्बनपछि आईसीसीले श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन।

आईसीसीको अर्को बैठक नोभेम्बर २१ मा बस्दै छ । उक्त बैठकले थप विषयमा प्रस्ट पार्नेछ । श्रीलंकाले आगामी वर्ष जनवरी र फेब्रुअरीमा आइसीसी यु-१९ पुरुष विश्वकप क्रिकेटको आयोजना गर्ने कार्यतालिका रहेको छ ।

यस्तै हाल भारतमा जारी एकदिवसीय विश्वकपमापनि श्रीलंका खराब लयमा रहेको छ । ९ खेलबाट मात्र २ जीत निकाल्दै ४ अंक जोडेको श्रीलंका तालिकाको नवौं स्थानमा रहेको छ ।