झलनाथको स्वीकारोक्ति महत्वपूर्ण तर अर्थहीन


सूर्य थापा ।
आदरणीय झलनाथ खनालले फेरि अर्को बलन्डर गर्दै सार्वजनिक गर्नुभएको यो स्वीकारोक्ति महत्वपूर्ण छ, तर समय र परिवेश अर्थहीन भइसक्यो। उहाँले समाजवादी जागरण अभियान संचालन नगरी देशमा अब समाजवादको चेतना र जागृति विस्तार नहुने अवस्था नभएको भ्रमपूर्ण अवस्था पनि होइन । उहाँकै सार्वजनिक भनाइ –नेकपा(एमाले) मैले (पनि)रगत पसिना बगाएर बनाएको पार्टी थियो। त्यो पार्टी छाड्नु मेरो राजनीतिक जीवनकै सबैभन्दा ठूलो ब्लन्डर थियो ।

– झलनाथ खनाल
मैले डल्लुस्थित घरमा पुगेर पुरै आधा दिन छलफल गर्दै उहिले पार्टी अध्यक्षसँग निरन्तर संवाद बढाउन, चित्त नबुझेका कुरा भेटेर भन्न र पार्टीलाई विभाजन नगर्न सुझाव दिएको थिएँ । उहाँलाई तत्कालीन विवादको चरम अवस्थामा कोटेश्वर र खुमलटार धाएर विमर्श र रिपोर्टिङ गर्न समय खेर नफाल्नुहोस, तपाईंको विगत र वरिष्ठताले त्यसो गर्न सुहाउँदैनसम्म भनेको सम्झन्छु। तैपनि उहाँ रोकिनुभएन । मैले त्यसपछि भेटेर सुझाव दिन र भन्न छाडें ।

आज आएर कमसेकम उहाँले इमानदारीपूर्वक आफ्नो महाभूल(ब्लन्डर) स्वीकारेर सार्वजनिक गर्नुभयो, धन्यवाद । इरानका अन्तिम राजा रेजा पहेल्वी शाहले अमेरिकामा निर्वासित भएपछि स्वीकारेर लेखेका छन्– ‘हिजो म इरानमा राजा थिएँ, तर इरान बुझ्न सकिनँ । आज इरान बुझेको छु तर म स्वयं इरानमा छैन!’

राजनीतिक नेतृत्वको ठूलो गल्तीले भयानक ठूलो, मध्यम गल्तीले मध्यमस्तरकै र सानो गल्तीले सानै क्षति पुरयाउँछ । गल्ती भयो भन्ने लाग्दासम्म स्वीकार गर्न त सकिन्छ, तर सच्याउने सामथ्र्य गुमिसकेको हुन्छ। तसर्थः हरेक कदम सोचिविचारी चाल्नुपर्छ ।
१४ बर्ष पार्टी प्रमुख(महासचिव, कावा महासचिव र अध्यक्ष) पटकपटक मन्त्री र एकपटक प्रधानमन्त्री भइसकेको विराट अनुभव बोकेको शान्त, सौम्य र भद्र मिजासको व्यक्तित्व जीवनको उत्तराद्र्धमा स्वयं पार्टीबिहीन बन्ने परिणाम कठोर नियती र ब्लन्डर नै हो ।