काठमाडौं । रिगल भनिने योगराज ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन्। फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धर्धरी रोएको सुनाइन् ।
सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताइन् । उनले भनिन्,‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्यो देखि म गलत भएँ । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धर्धरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसके पनि न्यायालय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ ।’
उनले नेपाल सरकार र राष्ट्रपतिले पैसामा बिकेर हत्याराहरुलाई आममाफी दिएको आरोप लगाइन् । फैसला सुन्ने क्रमको आफ्नो मनोभावना सुनाउँदै उनले भनिन्, ‘उहाँहरु (न्यायाधीश) पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला र ? दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जीत हुन्छ कि हत्याराहरुको जीत हुन्छ भन्ने सोचमा म थिएँ ।’
उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् । उनले यो बीचमा धेरै बाधा अड्चन र डर त्रास देखाएपनि आफूलाई टीमले साथ नछाडेको बताइन् ।
चेतनको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।
सरकारको निर्णयविरुद्ध भारतीले अदालतको ढोका ढक्ढक्याएकी थिइन् । सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै बाँकी सजाय भुक्तानका लागि पक्राउ गर्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै रिगल पक्राउ परेका थिए । उनलाई शुक्रबार बाँके कारागार चलान गरिएको छ ।

प्रतिक्रिया