काठमाडौँ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।
प्रधानमन्त्री बालेन साहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा आयोजित छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने तथा त्यससम्बन्धी जानकारी वायुसेवा कम्पनीका बिक्री वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति भएको छ ।
क्यानका अनुसार छलफलमा आन्तरिक वायुसेवा कम्पनीले स्वीकृत भाडादरको सीमाभित्र रही यात्रुलाई टिकट उपलब्ध गराउने र सस्तो भाडादर भए त्यसबारे स्पष्ट सूचना आफ्नो बिक्री वितरण प्रणालीमा प्रकाशन गर्ने विषयमा सहमति भएको हो।
आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गर्ने निर्णय तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७३ मंसिर २७ गते गरिएको थियो।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले हवाई भाडामा मनोमानी हुन नदिन तथा यात्रुलाई सहज र पारदर्शी रूपमा टिकट उपलब्ध गराउन छलफल गरिएको क्यानले जनाएको छ।

प्रतिक्रिया