काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाकर्मीको हत्या गर्ने धम्की दिने कोशी प्रदेशका नेपाली कांग्रेस सांसदहरूलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ताप्लेजुङमा कांग्रेस सांसदले नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिने सांसद खगेनसिंह हाङगाममाथि कारबाही गर्न माग गरेका हुन् । उनले हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिलाई आतंककारी क्रियाकलापको संज्ञा दिए ।
उनले भने, ‘बालबच्चा, घरपरिवार माछौंँ भन्ने आतंककारी क्रियाकलापबाहेक केही होइन । सरकार आफैँले यस्ता क्रियाकलाप बढाइरहेको छ । मार्छु भनेको छ । सरकार नियन्त्रणमा लिँदैन ।’
उनले अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्दा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए ।
ओलीले सरकार नै तस्करीमा संलग्न भई कमिसनखोरीमा डुबेकाले जनताको समस्या नदेखेको बताए। उनले सम्मानित ढंगले बाँच्न पाउनुपर्ने अधिकार खोस्न उद्दत हुने प्रवृति हाबी हुँदासमेत सरकार मूकदर्शक बनेको उनले बताए ।
अध्यक्ष ओलीले संसदमा समेत हिंसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेको बताए । साथै उनले नेपालमा बाह्य शक्तिहरूले द्वन्द्व र अस्थितरता फिँजाउन खोजेको बताए । त्यस्तै अध्यक्ष ओलीले विदेशी नियोगका प्रतिनिधिहरूले कूटनीतिक मर्यादा पालना नगरेको बताए ।

प्रतिक्रिया