काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर दुर्ई दिने उच्चस्तरीय अन्तरक्रिया आजदेखि सुरू भएको छ ।
प्रधानमन्त्रीको पहलमा सोमबारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अन्तरक्रिया सुरु भएको हो । अन्तरक्रियामा प्रधानमन्त्री, सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरु, विदेशस्थित विभिन्न १३ देशका राजदूतहरू र कुटनीतिज्ञहरू उपस्थित छन् ।
अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भइरहेको छ ।
यस उच्चस्तरीय अन्तरक्रियाले श्रम बजार व्यवस्थित गर्न र विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारहरूका समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया