रविन्द्र मिश्र ।
यो सुर्खेतको उत्तरपट्टी रहेको गोठीकाँडा डाँडामा वीरेन्द्रनगरका इमानदार तथा सम्मानित पूर्व मेयर तथा राप्रपाका उपाध्यक्ष मुकुन्द श्याम गिरीसँग खिचिएको तस्बीर हो । पृष्ठभूमिमा देखिएको भूमि सुर्खेत उपत्यका हो । राजा वीरेन्द्र र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले २०२९ सालमा विज्ञहरूको साहयता लिई सुर्खेतमै बसेर, सुर्खेतलाई व्यवस्थित उपत्यका बनाउने योजना बुने । आवास क्षेत्रहरू, सरकारी कार्यालयका क्षेत्रहरू, कृषि क्षेत्रहरू, ४५/५५ मिटरका विशाल बाटोहरू, खेल मैदानहरू, स्कूल/कलेजका परिसरहरू सबै तय गरियो । राजमार्गको उत्तरतर्फ आवास र दक्षिणतर्फ पूर्णतः कृषि क्षेत्र रहने, वरिपरीका हरिया डाँडाहरू संरक्षण गरिने योजनाका साथ काम शुरू भयो । जब २०४६ सालमा प्रजातन्त्र आयो-सबै योजना भताभुङ्ग भयो। कृषि क्षेत्रमा घर बन्न शुरू भयो। सुर्खेत विस्तारै काठमाडौँ जस्तै ‘धनीहरूको सुकुम्बासी वस्ती’मा परिणत हुँदै गयो ।
२०४५ सालमा राजा वीरेन्द्रकै पालामा, सुर्खेतजस्तै, योजना गरिएको काठमाडौँको हालत आज कस्तो भयो! त्यसैगरी, हरेक घरबाट हिमाल देखियोस भनि घरको उचाइ (३५ फिट) समेत तोकिएको पोखराको हाल आज कस्तो भयो, जगजाहेर छ । पुस्तौँ–पुस्ताका लागि देश नै ध्वस्त बनाउने कस्तो ‘अग्रगमन’को जालोमा फसियो! यस्तो अग्रगमनको एकोहोरो बचाउ गर्नेले मनमा के सोच्दा हुन्–मैले बुझ्न सकेको छैन।
ती राजा ‘प्रतिगामी’ र तिमी ‘अग्रगामी’? यो -दुबै शब्दको अपमान हो। तिमीलाई ‘प्रतिगामी’ र ती राजालाई ‘अग्रगामी’ भनिनु पर्थ्यो। उल्टो भयो।

प्रतिक्रिया