प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी


क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहको खण्डन गरेको छ ।

मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन बोकेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । पश्चिमा देशहरू, क्रेमलिनका आलोचकहरू र क्रेमलिन समर्थक केही व्यक्तिहरूले मृत्युबारे विभिन्न अड्कलबाजीहरू गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा यो घटनालाई ‘दुःखद’ भनेका छन् र अधिकारीहरूको सम्भावित संलग्नताको बारेमा सार्वजनिक बहसलाई स्वीकार गरिने बताएका छन् ।

“निःसन्देह, पश्चिममा, यो अनुमानलाई एक निश्चित कोणबाट प्रस्तुत गरिएको छ । यो सबै सरासर झूट हो,” पेस्कोभले भने । उनले सबैलाई धैर्य गर्न आग्रह गर्दै जारी अनुसन्धानले घातक दुर्घटनाको बारेमा तथ्यहरू प्रकट गर्ने बताए ।

रूसी अधिकारीहरूले हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अहिलेसम्म अनुसन्धान वा घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनाप्रति आफ्नो मौनता तोड्दै विमानमा सवार १० जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घटनालाई ‘त्रासदी’ को संज्ञा दिएका छन् ।

गत जुनमा रूसको सैन्य नेतृत्वविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रिगोजिनले आफ्नो जीवनमा केही गम्भीर गल्ती गरेको र यो उनको जीवनको ‘जटिल नियति’ भएको उनले बताए

अल्पकालीन तर रक्तपातपूर्ण अशान्तिलाई पर्यवेक्षकहरूले पुटिनको लामो शासनका लागि सबैभन्दा ठूलो खतराको रूपमा हेरेका थिए ।
पेस्कोभले भने, “अनुसन्धानको रिपोर्ट आउनेबित्तिकै ती सबै सार्वजनिक हुनेछन् ।”

पुटिन प्रिगोजिनको अन्त्येष्टिमा सहभागी हुने वा नहुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “राष्ट्रपतिको कार्यतालिका अहिले निकै व्यस्त छ । अहिले अन्त्येष्टिको कुनै मिति तोकिएको छैन, यस विषयमा कुरा गर्न सम्भव छैन ।”

बिहीबार सम्बोधन गर्दै पुटिनले सन् १९९० को दशकको सुरुदेखि नै आफूले प्रियोजिनलाई चिनेको बताएका थिए । पुटिन र प्रोगोजिन दुवै जना सेन्ट पिटर्सबर्गका हुन् ।