सुन तस्करी अनुसन्धानमा झारा टार्ने काम नगरियोस्ः अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा जरैसम्म अनुसन्धान हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले यसको जरैसम्म पुगेर अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘केही मानिसहरूको नाम पनि अरु प्रकरणमा आएको छ। त्यसमा सशक्त ढंगले अनुसन्धान अघि बढाउनुपर्छ । झारा टार्ने काम नगरियोस्।’

त्यसैगरी उनले खर्च कटौतीको नाममा सेनाको अस्तित्व खतम पार्ने काम नगर्न आग्रह गरेका छन् । उनले आन्तरिक सुरक्षालगायत देशको सम्पूर्ण आयाममा महत्वपूर्ण योगदान पुर्याएको सेनाको औचित्यमाथि प्रश्न उठिरहेको भन्दै आपत्ति जनाए ।

लिङ्देनले नेपालको एकीकरणदेखि विश्वमा शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको भन्दै कुनै पनि हालतमा सेनाको संख्या घटाउन नहुने बताए ।

उनले भने,’असमयमा, बेमौसमी ढंगले नेपाली सेनाको संख्या कटौतीको विषयमा, सेनाको औचित्यमाथि प्रश्न उठाइएको छ। यो कसका लागि, के प्रयोजनका लागि हो, कसको खुसीका लागि। यसको जवाफ रक्षामन्त्रीले सदनमा गराउनुपर्छ ।’

उनले यो विषयमा रक्षामन्त्रीलाई सदनमा जानकारी गराउन आग्रह गरेका छन् । सेनालाई रकमको समस्या परेको हो भने खर्च कटौति गर्ने अन्य उपायहरू रहेको उनको भनाइ छ। उनले भने,’४० हजारको जनप्रतिनिधि किन चाहियो। प्रदेश किन चाहियो ?’