निजी क्षेत्रलाई उत्पादन क्षेत्रको नेतृत्व गर्न अर्थमन्त्रीको सुझाव


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका हुन् ।

“पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ”, उनले भने, “निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ ।”

निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे । पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ ।

त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गरे ।

बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनको भनाइ छ । लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरूपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए ।

मन्त्री महतले लेखापरीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए ।

अहिले लेखापरीक्षण व्यवसायमा आबद्ध हुनेको सङ्ख्या बढिरहेको र यो शिक्षा लिनेहरूको सङ्ख्या बढिरहेकाले नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।