लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामका लागि सरकारले गरेको कामको जानकारी गराउन निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

उनले भने,’लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकदेखि आजको बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरिएका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देशन गर्दछु ।’

शुक्रबारको बैठकमा सांसदहरुले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले उदासिनता देखाएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।