मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति


खोटाङ । विद्युतको मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आइतबार दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्णरूपमा जलेर नष्ट भएको हो ।

ढुङ्गा÷माटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा ३२ लाखभन्दा बढीको धनमाल पूर्णरूपमा जलेर क्षति भएको घटनास्थलमा पुगेका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिए । मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए ।

दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घण्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिए । घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए ।