पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ थप चार वर्षका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को अध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको मूलधारको सञ्चारगृह डनका अनुसार पीएमएल–एनको अध्यक्षमा सरिफ, उपाध्यक्षमा मरियम सरिफ र महासचिबमा अहसान इकबाललाई चयन गरिएको छ ।
पाकिस्तानका वर्तमान अर्थमन्त्री इशाक डार पीएमएल–एनको विदेश तथा अन्तर्राष्ट्रिय मामिलाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
पीएमएल–एनका अनलाइन सर्वोच्च नेता नवाज सरिफ र शहबाज सरिफले संयुक्त रूपमा दलको केन्द्रीय साधारण सभाको अध्यक्षता गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री सरिफले आफ्ना दाजु नवाजको आगमनको पर्खाइमा आफूले पीएमएल–एनको साधारण सभा र आन्तरिक निर्वाचन स्थगित गरेको बताए ।
उनले महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भूतपूर्व प्रधानमन्त्री इमरान खानमाथि कटाक्ष गर्दै खानले आफ्नो गलत उद्देश्यका लागि झुट र गलत प्रचार फैलाइरहेको र जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताएका थिए ।
यसैबीच मरियम नवाजले पार्टी पदसम्बन्ध, प्राथमिकता र रुचिका आधारमा नभई कार्यसम्पादन र योग्यताका आधारमा तोक्नुपर्ने बाएका थिए ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफले पीएमएलको सर्वोच्च नेता नवाज सरिफलाई चुनावी अभियानको नेतृत्व गर्न र चौथो पटक प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।
पार्टीको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै सरिफले आफू आफ्ना दाजु पाकिस्तान फर्कने र त्यसपछि पार्टीको बैठक बस्ने प्रतिक्षामा रहेको बताएका थिए ।
नवाज सरिफ सन् २०१९ को नोभेम्बरदेखि स्वास्थ्यका कारण लण्डनमा स्वनिर्वासित जीवन बिताइरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका सरिफले सभालाई सम्बोधन गर्दै भने, “निर्वाचन आयोगको तरवार झुण्ड्याइएको थियो, त्यसैले यो बैठक बसेको हो ।”

प्रतिक्रिया