मध्य अमेरिकामा १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग


वासिंटन। संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ। उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ।

प्रारम्भिक तथ्यांकअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ।

मौसम सेवाका अनुसार, दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम हो। यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) र बिलिङ्समा १०८ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) को कीर्तिमान रहेको थियो।

उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ। मौसमविद्हरूले अत्यधिक गर्मी मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन्।

एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो। त्यस क्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइट पुगेको थियो।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र हुने प्रवृत्ति बढ्दै गएको छ। जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको मुख्य कारण मानिएको छ।

यसैबीच, पश्चिमी युरोपले हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।