गण्डकीमा ३३ अर्बको हाराहारीमा बजेट आउने


गण्डकी । आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घट्ने भएको छ । चालु आर्थिक वर्ष ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आर्थिक वर्षका लागि ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ ।

सङ्घ सरकारले पठाएको ३३ अर्ब ८५ करोडको सीमामा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रूप दिन लागेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले बजेटमा समावेश हुने योजना र लागत प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए ।

स्रोत खुम्चिँदा सरकारलाई बजेट निर्माणमा दबाब छ । चालु आर्थिक वर्षमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएकामा यही जेठ ४ गतेसम्मको तथ्याङ्कअनुसार जम्मा पाँच अर्ब ८९ करोड ३९ लाख १८ हजार मात्र राजस्व उठेको छ ।

आन्तरिक राजस्वतर्फ पाँच अर्ब नौ करोड १६ लाखको लक्ष्य रहेकामा हालसम्म करिब ५० प्रतिशत मात्र सङ्कलन भएको छ । घरजग्गालगायत कारोबारमा मन्दी आउँदा राजस्व न्यून उठेको जनाइएको छ ।