नारायण गाउँले ।
हाम्रो राजनीति कति घटिया छ भन्ने बुझ्नुभयो होला ! पुलिसले पक्राउ पुर्जी जारी गरेपछि ’उपप्रधानमन्त्री र एमालेको सचिवजस्तो मान्छेलाई बाटैबाट पक्राउ गर्नु रहस्यमय र षड्यन्त्रमय भएको’ भन्दै केपी ओलीजी प्रचण्डलाई थर्काउन पुग्नुभो । त्यत्रो नेता भागेर जान्छ, लुक्छ र बाटैबाट समाउनुपर्ने ? उहाँले मिडियामा पोखेको आक्रोश थियो यो । आइजीपीसँग कुरो भएको त उहाँले नै बताउनुभएको थियो ।
त्यति माथिल्लो नेताले नै खुल्लमखुल्ला काख च्यापेपछि प्रहरी अलिकति हच्किनु स्वाभाविक भयो । काठमाडौं आएपछि पक्रिने भन्नेमा प्रहरी पुग्यो होला । तर, रायमाझीजी भाग्नुभयो, लुक्नुभयो । भोलिपल्ट पत्रकारलाई ओलीको जवाफ थियो, ’तपाईंहरू नै खोज्नुहोस्, उहाँ मेरो सम्पर्कमा हुनुहुन्न’ । अझ एमालेकै एक नेताले त संसदमा उभिएर टोपबहादुर कहाँ हुनुहुन्छ, सरकारले जवाफ दिनुपर्यो भन्नसमेत भ्याए ।
यो हदको निर्लज्जता, गैरजिम्मेवारी र अनैतिक जवाफ अर्को के हुन सक्ला ? यसरी खुल्लमखुल्ला आरोपीलाई भगाउन मद्दत गर्नु र प्रहरीको मनोबल गिर्ने गरी षड्यन्त्रको आरोप लगाउनु आफैंमा गम्भीर अपराध हो । सभ्य देशमा यस्तो संरक्षणले व्यक्तिको राजनीति सकिन्छ ।
यति ठूलो केसमा पुलिसले तार्किक शङ्का, प्रारम्भिक छानबिन, सूचना र प्रमाण सङ्कलन अनि अदालतमा केस बलियो बन्न सक्ने आधारपछि मात्रै पक्राउ गर्ने हो । अनुसन्धानले चेन खुल्दै जाँदा थप व्यक्ति पक्राउ पर्ने हुन् । यस्तो सङ्गीन केसमा घटिया राजनीति गर्दै आरोपीको पक्षमा बल पुग्ने गरी कुनै पनि अभिव्यक्ति दिनु खेदजनक छ ।
अझ निन्दनीय त ओलीजी स्वयंले यो केसबारे आफूलाई पहिल्यै जानकारी भएको र आफूसँग गोप्य प्रमाण रहेको स्वीकार गर्दै आफ्नालाई मात्रै फसाउन खोजे प्रमाण सार्वजनिक गर्ने बताउनुभएको थियो । यति ठूलो राष्ट्रघातमा आपराधिक बार्गेनिङ गर्नु र हामीले ताली बजाउनुजस्तो बिडम्बना के होला ?

प्रतिक्रिया