काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
पौडेल र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो । भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले घाइतेलाई उद्धार गरिएको जानकारी दिए।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ ।
दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

प्रतिक्रिया