महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भने, ‘कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारकतत्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधाररित पनि भएको हुन्छ ।’
पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उनले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताए ।
‘पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ’, उनले भने, ‘हामी छिमेकी र पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्व दिएर निरन्तरता दिन चाहन्छौँ ।’
उनले सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको बताए । त्यसैगरी दोधारा चादँनीमा सुक्खा बन्दरगाह, डडेल्धुरा र बैतडीको झुलाघाटमा पक्की पुल बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्दै लगिएको उनको भनाइ थियो ।
‘समग्र सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु’, उनले भने, ‘सुदूरपश्चिमको आर्थिक पर्यटनको विकासका लागि पनि गृहकार्य अघि बढेको छ ।’

प्रतिक्रिया