टर्कीमा भूकम्पपछि २७ लाख मानिस विस्थापित


टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएका संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ मा ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।

भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो । उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् ।

त्यस क्षेत्रमा ९ घण्टापछि ७.५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् ।