काठमाडौं । नेकपा माओवादी केन्द्रले आफू पहिचानमा आधारित नामका पक्षमा भए पनि प्रदेशसभाको प्रतिकूल अंकगणितका कारण यसअनुरूप प्रदेश एकको नामाकरण गर्न नसकिएको बताएको छ ।
माओवादी केन्द्रको कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विज्ञप्ति जारी गरी पहिचानमा आधारित नामाकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवासीसँगै आफूहरू पनि दुःखी भएको बताएका हुन् ।
उनले भनेका छन्,‘पहिचानमा आधारित नामाकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवासीसँगै हामी पनि दुःखी छौँ। तर, इतिहास दुखेसो मात्र गरेर बन्दैन। संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्याउँछौं, संसदीय अंकगणितको प्रतिकूलताले पहिचानमा आधारित प्रदेश नामकरण गर्न असमर्थ भएका छौँ । यसको अर्थ हामी प्रयत्न छाड्छौँ भन्ने किमार्थ होइन। पहिचानको पक्षमा उठ्ने आवाज र अभियानप्रति फेरि पनि ऐक्यबद्धता जाहेर गर्दै भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाइ संख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने प्रण गर्दछौँ।’
प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिसकेको छ।


प्रतिक्रिया