काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती पर्यटनमन्त्री भएका छन् । मंगलबार पर्यटनमन्त्री बन्ने खबर पाएपछि उनले आफ्ना ७५ वर्षका बुवालाई यो कुरा सुनाए ।
उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन्। बेलायती सैनिकमा भर्ती भएका हर्कबहादुरले फकल्यान्ड युद्ध पनि लडेका थिए । छोराको कुरा सुनेर बुवा हर्कबहादुर भावुक बने ।
किराँतले बाबुसँग भएको कुराकानी सामाजिक संजालमा राखेका छन् ।
यस्तो छ किराँती बाबुछोराको कुराकानी
डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ……… ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए …… ।
बुवा – म गएपछि तेरो आमासंग भेट हुन्छ नै होला म सबै भनिदिउँला । बुवा रुनु भो ! म ……… !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

प्रतिक्रिया