चीन सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लागु गराएका कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला स्तरका प्रदर्शनहरू भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा प्रेषित भिडियोमा सयौँ मानिसहरू विरोध प्रदर्शनमा सहभागी भएको र प्रहरीसँग उनीहरूको झडप भएको देखिन्छ । उनीहरूमध्ये अधिकांश मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेको ठानिएको छ ।
उक्त सहरमा झन्डै तीन महिनायता लकडाउन लगाइएको छ। सङ्क्रमणको नयाँ लहर देखा परेपछि सो निर्णय लिइएको थियो । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो ।
उक्त प्रदर्शन बुधबार अपरान्ह भएको र त्यो रातिसम्म चलेको बताइएको छ । एउटा भिडियोमा सयौँ मानिसहरू चोकमा भेला भएको देख्न सकिन्छ। त्यसमा एउटा कुनाबाट सुरक्षाकर्मीहरूले उनीहरूलाई छेकिरहेको देखिन्छ ।
चिनियाँ सामाजिक सञ्जालबाट तिनलाई हटाइएको भए पनि ट्विटरमा ती भिडियोहरू पुनः पोस्ट भएका बीबीसीले उल्लेख गरेको छ । तिब्बती स्रोतहरूले रेडियो फ्री एशियालाई बताएअनुसार प्रदर्शनकारीहरूले निषेधाज्ञा नहटाइए आगो लगाइदिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया