५० वर्षसम्म ननुहाएका आमु हाजीको ९४ वर्षको उमेरमा निधन


सञ्चारमाध्यमहरूले विश्वकै फोहोरी व्यक्तिको संज्ञा दिएका एक जना वृद्धको ९४ वर्षको उमेरमा निधन भएको छ । आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए । दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो ।

दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए । तर स्थानीय सञ्चारमाध्यमका अनुसार उनी अन्ततः दबाब सामु झुके र केही महिनाअघि उनले नुहाएका थिए । इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आइतबार उनको निधन भयो ।

सन् २०१४ मा द तेहरान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनपर्ने खानेकुरा दुम्सी भएको खुलासा गरेका थिए । उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए ।

आफू किशोर छँदा व्यहोरेको भावनात्मक क्षतिबाट पार पाउन त्यस्तो अस्वाभाविक रोजाइको पक्षमा आफू उभिएको उनको भनाई थियो । वर्षौँसम्म ननुहाउँदा उनको छाला कालो धुवाँ र कडा पहेँलो फोहोरले ढाकिएको आइआरएनएले जनाएको छ ।

उनको खान्कीमा कुहिएको मासु र थोत्रो तेलको जर्किनमा राखिएको अस्वास्थ्यकर पानी रहने गरेको थियो । उनलाई धूम्रपान मन पर्थ्यो र एक पटक भन्दा बढी समय एक भन्दा बढी चुरोट एकै पटक तानिरहेको अवस्थाको उनको तस्बिर खिचिएका थिए ।

इरानी समाचार संस्थाले नुहाउने वा सफा पानी उपलब्ध गराउने प्रयासले उनलाई दुःखी तुल्याउने गरेको जनाएको छ । यद्यपि लामो समय ननुहाएर बस्ने कीर्तिमान उनको नाममा हुन्छ कि हुँदैन भन्ने विषयलाई लिएर केही विवाद रहेको छ ।

सन् २००९ मा एक जना भारतीय पुरुषले ३५ वर्षसम्म ननुहाएको र आफ्नो दाँत पनि नमाझेको विवरण आएको थियो । त्यसयता उनलाई के भयो भन्ने अझै प्रस्ट छैन।