चुनावपछि एमालेको सरकारः केपी ओली


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि मुलुकमा एमालेको सरकार बन्ने बताएका छन् ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावपछि एमालेलाई जनताले सरकारको नेतृत्वमा पुर्याउने बताए ।

नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आह्वान गरे ।

आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको र देशको विकास गर्न एमालेकै सरकार चाहिने अध्यक्ष ओलीले बताए ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र सङ्कटमा परेको उनले बताए ।

अरूका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उनले बताए । देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले नेपाली जनताले हिजो देखेका विकासका सपना आज विपनामा परिणत भएको बताए ।