अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह


अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ । सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् ।

उनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा बृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराए । सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरु तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् ।

बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । अहिलेका बालिकाहरू भोलिका शिक्षिका, इन्जिनियर, चिकित्सक, सार्वजनिक सेवा प्रदायक, व्यवसायी, नेता आदि भएकाले उनीहरूलाई अहिले नै राम्रोसँग विकास गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएदेखि बालिकाहरुलाई विद्यालय जान, महिलालाई रोजगारी गर्न र घर बाहिर एक्लै हिँड्न प्रतिबन्ध लगाइएको छ । सरकारको यस निर्णयको विश्वभरीबाट विरोध भएपनि तालिवान सरकारले वेवास्ता गर्दै आएको छ ।