केशवप्रसाद भट्टराई ।
१. चुनावमा जसरी व्यापारीहरूले दल र नेताहरूलाई पैसा खन्याइ दिन्छन्–त्यसैगरी विदेशीहरूले पनि ओइर्याइदिन्छन् । त्यस्तो विदेशी पैसाको चलखेल नेपाल,भारत, पाकिस्तान, बंगलादेश रूस अमेरिकामा जहाँ पनि हुन्छ ।
२. आफ्नो रणनीतिक स्वार्थ भएको मुलुकमा हुने चुनावमा विदेशीहरूले मूलतः गुप्तचर संगठन र उनीहरूका छद्म संगठन ( आइएनजिओ, एनजिओ र थिङ्क ट्यांक)हरू मार्फत ठूलो परिमाणमा पैसा दिने गर्दछन् । त्यसो गर्दा सरकारी अभिलेखमा– मुलुकहरूका लेखापरीक्षण सँस्थाहरूको दृष्टि र अभिलेखमा ती समावेश हुन्नन् । त्यसैले त्यसमा व्यापक भ्रष्टाचार पनि हुने गर्दछ – त्यस्तो प्रयोजनको लागि सरकारले दिएको पैसा भन्दा कम पैसा दिएर बाँकी पैसा आफैँ राख्ने कार्य गुप्तचर अधिकारीहरूले गर्दछन् ।
३. नेपालका ठूला राष्ट्रवादी भनेर चिनिने राजाले र नेपालका ठूला प्रजातन्त्रवादी नेताले अमेरिकी जासूसी संगठनसँग चुनावको खर्च लिएकोबारे सिआइएकै नेपालमा कार्यरत अधिकारीले लेखेको बारे मैले केही अघि एउटा अनलाइन पत्रिकामा लेखेको थिएँ । एउटा टिभीसँगको अन्तर्वार्तामा पनि उल्लेख गरेको थिएँ । बंगलादेश, पाकिस्तान र भारतको कुरै नगरौँ –त्यसबारे छ्याप–छ्याप्ती लेखिएका छन् । भारतीय काङ्ग्रेसका कतिपय नेताहरू/मंत्रीहरूलाई सोभियत जासूसी सँस्थाले नियमित तलव नै उपलव्ध गराउने गरेका अभिलेखहरू छन् ।
४ . सरकार बनाउन सांसद खरीद गर्न कृष्णबहादुर महराले चिनियाँहरूसँग पैसा मागेको अडियो रेकर्ड बाहिरियो–नबाहिरिएका कति होलान् ? माओवादी विद्रोहको डिजाइन, प्रशिक्षण, हातहतियार र आर्थिक सहयोगबारे आधिकारिक व्यक्तिहरूले लेखेकै –भनेकै छन् । जुन शक्तिलाई सत्तामा ÷सरकारमा पुर्याउन संसारको सवैभन्दा ठूलो प्रजातन्त्रले त्यत्रोसहयोग गर्दछ – चुनावमा नगर्ला ? नेपालको चुनावमा भारत, चीन, अमेरिका सवैले दलहरूलाई आर्थिक सहयोग गर्दछन् ।
५ . चीनले नेपाल भारतको कुरा छोड्नोस अमेरिकाको राष्ट्रपतिको चुनावमा पैसा खर्चिन्छ ।
अमेरिकाको सन्दर्भ हेरौँ –
१९९६को अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा बिल क्लिन्टनको लागि चीनको व्यापार र आर्थिक सहयोग मन्त्रालयले मात्रै चीनका बहुराष्ट्रिय कम्पनीहरू –लिप्पो, चरोएउन पोपखंड,सान किन यिपहरूले करीव ५० लाख डलर खर्च गरेको थियो र त्यसको संयोजन चिनियाँ कम्युनिस्ट पार्टी सम्बद्ध चीनियाँ मूलका अमेरिकीहरूले गरेका थिए । त्यसको लगत्तै वाशिंगटन पोस्टको मे २० र मे २४ १९९८मा प्रकाशित विवरण अनुसार चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल ल्यु हुवा किङ्की छोरी मार्फत क्लिन्टनको चुनावको लागि तीन लाख डलर प्रदान गरिएको थियो । स्वाभाविकरूपमा चिनियाँ पक्षले यसरी रकम प्रदान नगरिएको त बतायो तर त्यो एउटा औपचारिक व्यवहार मात्रै थियो ।
६ . त्यस्तो समाचार बाहिरिए लगत्तै बिल क्लिन्टनको मोनिका लेविन्स्कीसँगको यौन सम्बन्धबारेको समाचार पनि एकपछि अर्को गर्दै प्रकाशित हुन थाल्यो र त्यसले चिनियाँ आर्थिक सहयोगको पक्ष ओझेलमा पर्यो । डोनाल्ड ट्रम्पको निर्वाचन अभियानमा रूसी आर्थिक सहयोग र चलखेलको भएको समाचार÷आरोप बारे त विश्व जानकार नै छ । मार्च २०१२मा रूसमा राष्ट्रपतिको निर्वाचन हुँदै थियो– उक्त निर्वाचनमा पुटिनलाई हराउने उद्देश्यले अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले २०११ को अन्तिम महिनाहरूदेखि नै व्यापक अभियान र आन्दोलन गराएकी थिइन् र त्यसैको बदला लिन पुटिनले हिलारीलाई हराउन र ट्रम्पलाई जिताउन व्यापक लगानी गरेको समाचार र प्रमाणहरू सार्वजनिक भएका थिए ।
७. चीनका गुप्तचर संगठनहरू भारत र अमेरिकी गुप्तचर संगठनहरू भन्दा धेरै शक्तिशाली मानिन्छन् –उनीहरू विश्वविद्यालय र थिङ्क ट्यांकहरू देखि व्यापारिक कम्पनीहरू, प्रतिष्ठानहरू र मिडिया सञ्जालहरूलाई प्रयोग गर्दछन् । चीनमा मूलतः दुई विराट गुप्तचर संगठनहरू छन् । एउटा हो–एमएसएस अर्थात् मिनिस्ट्री अफ स्टेट सेक्युरिटी र अर्को–चिनियाँ सैन्य आयोग अन्तर्गतको इन्टेलिजेन्स ब्युरो । दुवै संगठनका आफ्नै आफ्नै छद्म थिङ्क ट्यांक छन् , वौद्धिक व्यक्तिहरू छन् , पत्रकारहरू छन् । तिनीहरूले विभिन्न मुलुकका राजनीतिक दलहरू, एनजिओ –आइएनजिओ, थिङ्क ट्याङ्क, मिडिया हाउस, ट्रेड युनियन ,पेशागत संगठनहरू आफ्नै आफ्नै किसिमका व्यापक सञ्जाल निर्माण गरेका छन् र ती मार्फत आफ्ना राष्ट्रिय र रणनीतिक सरोकारहरूलाई अघि बढाइरहेका हुन्छन् । अखबारहरूमा लेख लेखाइरहेका हुन्छन् , पत्रकारहरू र सम्भावना रहेका राजनीतिक व्यक्तिहरूलाई आफ्नो मुलुकमा भ्रमण गराउने, –सामाजिक संजालहरूमा अभियान संचालन गराउने गरिरहेका हुन्छन् । विश्व विद्यालयका विभागहरूलाई आर्थिक सहयोग गरेर आफ्ना प्राथमिकताका क्षेत्रमा पाठ्यक्रमहरू विकास गर्ने –पढाउने गर्दछन् । यस्तो कार्य नेपाल र भारत जस्ता मुलुकमा मात्र होइन, अमेरिकामा पनि चीनले चलाइरहेकोबारे रोजर फालिगट, क्लाइभ ह्यामिल्टन, पिटर म्याटिस, म्याथ्यु ब्राजिल लगायतका विभिन्न लेखकहरूले आफ्ना प्रामाणिक अनुषन्धान मूलक ग्रन्थ र लेखहरू मार्फत लेखिरहेका छन् ।
८. यो प्राचीन कालदेखिको विश्वको स्थापित अभ्यास हो । यसकोलागि दोषी उनीहरू होइनन् । यस्ता अभ्यासबाट आफ्नो मुलुकको हित र स्वार्थको रक्षा अरूले गरिदिने होइन, आफैँले गर्ने हो । आफ्नै राज्य र राजनीतिक अङ्गहरूबाट गर्ने हो । सक्नुहुन्छ रोक्नुस्, सक्नुहुन्न विदेशीको खेल मैदान बनाइरहनुस् ।

प्रतिक्रिया