उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको स्वास्थ्यस्थिति गम्भीर


उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री एवम् समाजवादी पार्टीका नेता मुलायमसिंह यादवको स्वास्थ्यस्थिति गम्भीर रहेको मेदान्त अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार नेता यादवलाई जीवनदायी औषधि दिएर उपचार जारी राखिएको छ । नेता यादवलाई सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकहरूको टोलीले उपचार गरिरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा सञ्जीव गुप्ताले बताएका छन् ।

आज उनको अवस्था अत्यन्त नाजुक बनेको उनले बताए । बयासी वर्षीय नेता यादव गत साता अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

गत शुक्रबार केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले नेता यादवलाई अस्पतालमा भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।